Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/225
Title: नेपालीका भाषिकाहरूको अध्ययन
Authors: निरौला, यज्ञेश्वर
Keywords: ११५० देखि १४५० सम्मको समयलाई प्राचीन नेपाली भाषाको रूपमा ‘सिँजाली’ भाषालाई मानेका छन्
Issue Date: 29-Mar-2019
Abstract: भारोपेली परिवारको भारत इरानेली शाखाको शतम् वर्गमा पर्ने भारतीय आर्य भाषाबाट प्राकृत र अपभ्रंश भाषाको विकास भयो । यिनै प्राकृत र अपभ्रंश भाषामध्ये उत्तर पूर्वी शाखाको खस अपभं्रशबाट नेपाली भाषाको विकास भएको हो । इसाको चौधौं शताब्दीको अन्त्यतिर सिँजाली खस राज्यको विघटनपछि भाषिक परिर्वतनमा स्पष्टतः विविध लक्षणहरू देखा परे । अहिलेको नेपाली भाषाको प्राचीन रूप त्यस बेलाको सिँजाली भाषा हो । सूर्यमणि अधिकारी (२०५६) ले ऐतिहासिक घटना र भाषिक पुरातइभ्वका आधारमा नेपाली भाषाको काल विभाजन गर्दै वि.सं. ११५० देखि १४५० सम्मको समयलाई प्राचीन नेपाली भाषाको रूपमा ‘सिँजाली’ भाषालाई मानेका छन् । खस अधिराज्यको विघटनपछि पश्चिम नेपालका कर्णाली प्रदेशमा बाइसे र गण्डकी प्रदेशमा चौबिसे राज्यहरूको उदय भएपछि सिँजाली भाषा पनि कर्नाली र गण्डकी क्षेत्रको सम्पूर्ण भूभागमा फैलियो र यस भाषालाई ‘मल्ल भाषा’ भन्न थालियो । गण्डकी प्रदेशका उर्वर उपत्यकाका घना बस्तीहरूमा बोल्न थालेपछि यसलाई ‘पर्वत भाषा’ भनियो । प्राचीन कालको ‘सिँजाली’ भाषाका स्थानीय भेदहरू पनि देखिन थाले । ती स्थानीय भेदहरूलाई ‘मल्ल भाषा’ र ‘पर्वते भाषा’ का रूपमा चिनियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि मध्यकालको ‘मल्ल’ तथा ‘पर्वते’ भाषालाई ‘गोरखा’ भाषा भन्न थालियो । ‘नेपाली भाषा’ नाम दिनुअघि यस भाषालाई ‘गोरखा भाषा’ नै भनिन्थ्यो । यस प्रकार प्राचीन ‘सिँजा भाषा’ नै ‘मल्ल भाषा’, ‘पर्वते भाषा’ र ‘गोर्खा भाषा’ हुँदै आधुनिक नेपाली भाषाका रूपमा विकसित भएको हो । आधुनिक नेपाली भाषाका धेरै क्षेत्रीय भेदहरू विकास भएका छन् । ती क्षेत्रीय भेदहरूमध्ये सुदूर पश्चिम र मध्य पश्चिम क्षेत्रमा रहेका नेपाली भाषाका भौगोलिक भेदको अध्ययनका क्रममा शोध कार्यमा निम्न लिखित समस्याहरू रहेका छन् ः शोध समस्या (क) आधारभूत शब्दावलीका आधारमा नेपालीका भाषिकाहरूको अवस्था के कस्तो छ ? (ख) नेपालीका भाषिकाहरू बिच बोधगम्यताको अवस्था कस्तो छ ? (ग) नेपालीका भाषिकाहरूका संरचनात्मक विशेषता के कस्ता छन् ? यस अनुसन्धान कार्यमा भाषिकाहरूको अन्तःसम्बन्ध एवं विभाजनका आधारमा नेपालीका भौगोलिक भाषिकाहरूको अध्ययन गरिएको छ । यो अध्ययन निम्न उद्देश्य पूर्तिमा केन्द्रित छ ः शोध उद्देश्य (क) आधारभूत शब्दावलीका आधारमा नेपालीका भाषिकाहरूको अवस्था अध्ययन गर्नु, (ख) नेपालीका भाषिकामा रहेको बोधगम्यताको अवस्था पहिल्याउनु, (ग) नेपालीका भाषिकाहरूको संरचनात्मक विशेषता पहिल्याउनु । शोध सीमा क्षेत्रीय, सामाजिक, ऐतिहासिक आदि विभिन्न आधारमा भाषिक भेदहरूको अध्ययन कार्य अघि बढाउन सकिए तापनि प्रस्तुत शोधकार्य नेपाली भाषाका क्षेत्रीय भाषिकाको अध्ययनमा सीमित छ । यो अध्ययन भाषिक सर्वेक्षण पद्धतिमा आधारित नभई नमुना छनोट पद्धतिमा आधारित छ । कसाड (सन् १९७४ ः ७) का अनुसार कोटा नमुना परीक्षण विधि र नमुना छनोट विधि गरी नमुना छनोट पद्धति दुई प्रकारको हुन्छ । यस अनुसन्धान कार्यमा धेरैजसो नमुना छनोट विधि प्रयोग गरिएको छ भने भाषिका बोधगम्यता परीक्षणका क्रममा डोट्याली पाठ परीक्षणमा चाहिँ आंशिक रूपमा कोटा नमुना परीक्षण विधि पनि प्रयोग गरिएको छ । निर्धारित प्रश्नावली तथा पाठ सङ्कलनका आधारमा तथ्य सङ्कलनका निम्ति सुदूर पश्चिम तथा मध्य पश्चिम नेपालको पहाडी क्षेत्रलाई अध्ययन स्थलका रूपमा छनोट गरिएको छ । सय शब्द सङ्कलन तथा बोधगम्यता परीक्षण दुवैमा मध्य पश्चिमको रोल्पा, प्युठान र त्यसभन्दा पूर्वको गण्डकी तथा कोसी प्रस्रवण क्षेत्रमा भाषिका भेद देखा नपरेका हुँदा र उच्चारणगत भिन्नता र केही स्थानीय भेद मात्र देखिने हुँदा (पोखरेल ः २०५५) ती क्षेत्रका भाषिक भेदलाई यस अध्ययन क्षेत्रभित्र नसमेट्नु यस शोध कार्यको महइभ्वपूर्ण सीमा हो । यस अध्ययनमा ब्लेयर (सन् १९९७) ले भाषिका अध्ययनका निम्ति प्रयोग गरेको २१० शब्दलाई आधार बनाइएको छैन । भाषिकाको बोधगम्यता परीक्षण समेत यस अनुसन्धानको अध्ययन क्षेत्र भएकाले काम बोझिलो हुने ठहर गरी २१० शब्दलाई छाडी स्वाडेस (१९५५) का आधारभूत सय शब्दलाई आधार बनाइएको छ । आधारभूत सय शब्द भिन्न भिन्न भाषिका क्षेत्रका वक्ताबाट अनुवाद गराई तिनै शब्दका आधारमा प्रत्येक भाषिका क्षेत्रका बिच देखिएको भाषिकागत समानता देखाइएको छ । बोधगम्यता परीक्षणका निम्ति आरटीटी पद्धति प्रयोग गरिएको छ । भाषिका अध्ययनका परम्परागत पद्धति, अनुभव पद्धति, शब्द आवृत्ति प्रवृत्ति, गणनात्मक पद्धति, समूह आवृत्ति पद्धति आदि भाषिका अनुसन्धान विधिहरूमध्ये अनुभव पद्धति र गणनात्मक पद्धति मात्र प्रयोग गरिएको छ । दार्चुला, डोटी र जुम्लालाई केन्द्र बनाई त्यहीँका सूचकबाट लिइएको आरटीटी सामग्रीबाट बोधगम्यता परीक्षण गरिएको र दार्चुलाली, डोट्याली र जुम्ली तिन ओटै पाठलाई परिशिष्ट १ मा उल्लेख गरिएका भाषिका अध्ययनका क्षेत्रका सूचकबाट आआफ्नो भाषिकामा अनुवाद गराउँदा जुन सामग्री प्राप्त भयो तिनै सामग्रीलाई आधार बनाई उक्त अध्ययन क्षेत्रका सबै भाषिकाको संरचनात्मक विशेषता पहिल्याइएको छ । सय शब्द सङ्कलन तथा ‘आरटीटी’ बाट जे जति सामग्री प्राप्त भयो त्यसैका आधारमा भाषिकाहरूको विशेषता पहिल्याउने काम भएको हुँदा तिनै अनूदित सामग्रीका आधारमा भाषिकाका संरचनात्मक विशेषता प्रस्ट पारिएको छ । शोध विधि यस अध्ययनमा सामग्री सङ्कलनका निम्ति आवश्यक पर्ने ‘कोटा नमुना परीक्षण विधि’ र ‘नमुना छनोट विधि’ गरी दुई प्रकारको नमुना छनोट पद्धतिमध्ये ‘नमुना छनोट विधि’ प्रयोग गरिएको छ । भाषिका बोधगम्यता परीक्षणका क्रममा डोट्याली पाठ परीक्षणमा चाहिँ आंशिक रूपमा ‘कोटा नमुना परीक्षण विधि’ बाट पनि सामग्री सङ्कलन गरिएको छ ।
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/225
Appears in Collections:300 Social sciences

Files in This Item:
File Description SizeFormat 
Ph.D. Thesis 1.pdf6.42 MBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.