Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/470
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorपोख्रेल, लक्ष्मी
dc.date.accessioned2017-12-05T05:54:29Z
dc.date.accessioned2020-08-21T08:11:45Z-
dc.date.available2017-12-05T05:54:29Z
dc.date.available2020-08-21T08:11:45Z-
dc.date.issued2017-12-05
dc.identifier.urihttp://103.69.125.248:8080/xmlui/handle/123456789/470-
dc.descriptionत्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत नेपाली विषयमा विद्यावारिधि उपाधिका निम्ति प्रस्तुत, त्रिभुवन विश्वविद्यालय काठमाडौं, नेपाल २०७१en_US
dc.description.abstract“लुम्बिनी अञ्चलका लोकगीतको समाज शास्त्र” शीर्षकको प्रस्तुत शोध प्रबन्ध दस अध्यायमा विभाजित छ । शोध परिचयको रूपमा रहेको पहिलो अध्यायमा विशेष रूपमा शोध समस्या, उद्देश्य, शोधविधि जस्ता पक्षहरूको उललेख छ । लुम्बिनी अञ्चलका लोकगीतमा के कस्तो समाज शास्त्र रहेको छ भन्ने मूल समस्यासँग सम्बन्धित शोधप्रश्नहरूको उत्तरबाट त्यसको समाधान गर्नु नै प्रमुख उद्देश्य रहेको हुँदा साहित्यको समाज शास्त्रीय सिद्धान्तका आधारलाई नै लोकगीत विश्लेषणको समाज शास्त्रीय आधार खडा गरिएको छ । त्यसै अनुसार नै लुम्बिनी अञ्चलका लोकगीतहरूको विश्लेषण गरिएको छ । प्रस्तुत शोध कार्यका सन्दर्भमा लुम्बिनी अञ्चलका नेपाली लोकगीतहरू नै प्राथमिक सामग्रीका रूपमा रहेका छन् भने द्वितीयक सामग्रीका रूपमा साहित्यको समाज शास्त्रीय सिद्धान्त तथा लोकगीतमा रहेका सामाजिक पक्षका बारेमा चर्चा गरिएका पुस्तक तथा लेखहरू रहेका छन् । अध्ययन गर्नका निम्ति साहित्यको समाज शास्त्रले स्थापित गरेका सैद्धान्तिक मान्यतामा आधारित भएर वर्णनात्मक तथा विश्लेषणात्मक विधिलाई अपनाइएको छ । प्रस्तुत शोधकार्यको अध्याय दुईमा साहित्यको समाज शास्त्र र लोक साहित्यको समाज शास्त्रीय अध्ययनका आधारहरू शीर्षक अन्तर्गत साहित्य, समाज, समाज र साहित्य, समाज शास्त्र र साहित्यको समाज शास्त्रको बारेमा समान्य परिचय प्रस्तुत गरिएको छ । यसै क्रममा साहित्यको समाज शास्त्रीय सिद्धान्तको चिन्तन परम्परा र यस परम्परामा आएका प्रत्यक्षवादी विधेयवादी, अनुभववादी र मीमांसावादी धारका बारेमा चर्चा गरिएको छ । यसबाट साहित्यको समाज शास्त्रीय सिद्धान्तलाई नै लोक साहित्यको समाज शास्त्रीय अध्ययनका लागि आधार बनाउन सकिने निक्र्याैल निकालिएको छ । लोक साहित्यिक विधा भएकोले लोकगीतको समाज शास्त्रीय अध्ययनका लगि पनि सोही सिद्धान्त उपयोग गर्न सकिने कुरा स्पष्ट पारिएको छ । प्रस्तुत शोधकार्यमा पहिलो प्रश्नको समाधान स्वरूप अध्याय तिनमा लुम्बिनी अञ्चलमा प्रचलित नेपाली लोकगीतमा प्रतिबिम्बित जाति तथा प्रजातिको अध्ययन गरिएको छ । यस क्रममा मानवीय तथा मानवेतर (पशुपक्षीय तथा अन्य) प्रजातिहरू र तिनको समाजसँगको सम्बन्ध, तिनीहरूको अवस्थाले लोक सर्जकका मानसिकतामा प्रभाव पारेको स्पष्ट हुन गएको छ । नेपाली लोकगीतमा व्यक्त मानवीय प्रजातिहरूका संस्कृति, चिन्तन र क्रियाकलापहरूका बारेमा जानाकारी प्राप्त भएको छ । बाहुन क्षत्री, नेवार, कामी, सार्की, गुरुङ, थाकाली जस्ता प्रजातिहरूका धर्म, संस्कृति, चालचलन, रीतिरिवाज आदि कुराहरूको जानकारी प्राप्त भएको छ । त्यसका साथै नारी, पुरुष र विभिन्न जाति तथा प्रजातिहरूका सामाजिक अवस्थाको अध्ययन गर्दा तुलनात्मक रूपमा नारीभन्दा पुरुष र अन्य जाति–प्रजातिभन्दा ब्राह्मण जातिको स्थान समाजमा उच्च रहेको स्पष्ट हुन गएको छ । दोस्रो शोध प्रश्नको समाधानका लागि सङ्कलित नेपाली लोकगीतमा व्यक्त क्षण तथा वातावरण (परिवेश) को अध्ययन गरिएको छ । त्यहाँ सङ्कलित नेपाली लोकगीतमा व्यक्त सृष्टिकाल, पौराणिक काल, ऐतिहासिक काल, विभिन्न वर्ष वा साल, ग्रिष्म, वर्षा, शिशिर आदि ऋतु अनुसारका परिवेश, महिना, तिथि, बार, प्रात, दिवा, सन्ध्या जस्ता समयका सन्दर्भ साथै प्राकृतिक तथा सांस्कृतिक वातावरणका विभिन्न परिवेशहरूको अभिव्यक्ति भएको पाइएको छ । यसबाट लोकमा विभिन्न कालक्रम तथा परिवेशमा भएका चिन्तन, विचार तथा व्यवहारका गति र अवस्थाका बारेमा जानकारी प्राप्त भएका छन् । लुम्बिनी अञ्चलका लोकगीतमा प्रतिबिम्बित समाज, संस्कृति र भाषिक प्रयोग के कस्तो पाइन्छ ? भन्ने तेस्रो शोध प्रश्नको समाधानका लागि सङ्कलित नेपाली लोकगीतमा व्यक्त समाज सामजिक सङ्गठन, सामाजिक आर्थिक अवस्था, वर्गीय अवस्था र पारिवारिक अवस्थाका बारेमा अध्ययन गरिएको छ । लोकगीतमा व्यक्त भएका शैक्षिक, आर्थिक, सामाजिक, सांस्कारिक व्यवस्थाले समाजमा छोरा र छोरीको अर्थात् नारी–पुरुषको सामान अस्तित्वलाई स्वीकार्न नसकेको र असमान र विभेदमूलक न्यायव्यवस्था रहेको स्पष्ट भएको छ । ती लोकगीतहरू प्रचलित समाजमा एकल, संयुक्त, बृहत, पितृस्थानीय र बहुपत्नी पारिवारिक व्यवस्था रहेको जानकारी प्राप्त भएको छ । त्यसै गरी समाजका धनी, गरिब र अछुत भनिने वर्गको सामाजिक हैसियत र अवस्था चित्रित छ । ती गीतमा धनी वर्गमा ऐस–आराम, भड्किलो खानपान र रहनसहन रहेको बुझिन्छ । गरिब र अछुत वर्गले समाजमा सधैँ अपमान र अभावको समाना गर्नु परेको यथार्थको अभिव्यक्ति पाइएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र सञ्चारका असुविधा र जीवन निर्वाहका लागि कृषि जस्तो कठिन पेसा अपनाउनु पर्ने ग्रामीण समाजको यथार्थ बिम्ब त्यहाँका अधिक लोकगीतमा भेटिएको छ । त्यहाँका कतिपय लोकगीतमा शिक्षा, स्वस्थ्य, रोजगार, सञ्चार, यातायातका सुविधा उपभोग गर्ने नगर समाजको पनि प्रतिबिम्ब पाइन्छ । अनुसन्ध्येय क्षेत्रको आर्थिक व्यवस्था कृषि, उद्योग, व्यापार र वैदेशिक रोजगारबाट निर्मित भएको कुरा ती लोकगीतमा पाइएको छ । परिवारको खर्च धान्न गाह््रो हुँदा, ऋण तिर्नु पर्ने अवस्था आउँदा नेपालीहरू विदेश पुगेरै जागिर वा ज्याला मजदुरी गर्नु पर्ने बाध्यता रहेको स्पष्ट भएको छ । नेपाली लोकगीतमा प्रतिबिम्बित सामाजिक संस्कृतिको अध्ययन अध्याय छमा गरिएको छ । सामाजिक संस्कृति अन्तर्गत भौतिक तथा अभौतिक संस्कृतिको आधारमा लोकगीतको विश्लेषण गरिएको छ । भौतिक संस्कृति अन्तर्गत लोकगीतमा व्यक्त मन्दिर, घर, गोठ, खोर जस्ता आवास संस्कृतिका साथै सडक तथा यातायात, सिंचाइँ तथा विद्युत, यन्त्र उपकरण, सञ्चारका साधन, साङ्गीतिक उपकरण, भाँडा वर्तन, हस्तकलाका सामानहरू र नाप तौलका सामग्रीहरूको अध्ययन गरिएको छ । त्यसै गरी लोकगीतमा व्यक्त खाद्य संस्कृति अन्तर्गत अन्न, दाल, तरकारी, फलफूल, दूध, माछा, मासु आदिको उपभोग गर्ने गरिएको जानकारी पनि पाइन्छ । अभौतिक संस्कृति अन्तर्गत लोकगीतमा व्यक्त विभिन्न देवीदेउता मान्ने, धर्मकर्म, तीर्थव्रत, दानपुण्य गर्ने र विभिन्न चाडपर्वहरू मनाउने प्रचलन रहेको कुराको उल्लेख गरिएको छ । मानव सभ्यताको विकाससँगै सिर्जिएका संस्कृतिहरू जस्तो ः शृङ्गार, मेलाजात्रा, प्रथाहरू, सत्कार, अभिवादन जस्ता कुराका साथै कला÷सौन्दर्य, कलाकृति, शकुन, अपशकुन, भाकल, धामीझाँक्री, झारफुकका मन्त्र, मोहनी जस्ता लोक विश्वास र छैंठी, पास्नी, व्रतवन्ध, विवाह, अन्त्येष्टि जस्ता जीवन संस्कार र यज्ञ मण्डप निर्माण जस्ता पदार्थ संस्कारहरूका बारेमा जानकारी प्राप्त भएका छन् । यसबाट धार्मिक आस्था र आस्तिकतामा आधारित समाज व्यवस्था रहेको स्पष्ट हुन्छ । लुम्बिनी अञ्चलका लोकगीतमा प्रयुक्त भाषाशैलीको अध्ययन अध्याय सातमा गरिएको छ । ती लोकगीतहरूमा प्रयुक्त भाषाको अध्ययन गर्दा लोक गायकले आफ्नो स्तर, क्षेत्र, पेसा, वर्ग र जातीय प्रभाव अनुसारको भाषाशैली नै लोकगीतमा स्वाभाविक रूपमा प्रयोग गरेको पाइएको छ । ती गीतहरूमा आफूहरूमा गर्व भएको, भड्किला कर्म तथा संस्कृति जनाउने शब्द, गरिब÷विपन्न तथा अशिक्षित वर्गप्रति निकृष्ट अपहेलना र घृणाको भाव भल्काउने सम्पन्न वा प्रभुत्वशाली वर्गका भाषाशैलीको प्रयोग भएको पाइएको छ । अधीनस्थ वा विपन्न वर्गले भोगेका अभाव, तनाव, भोक, रोग, दमन, शोषण र लिङ्ग तथा जातिगत उत्पीडनजन्य भाव र अनुभूति झल्काउने शब्दहरू त्यहाँका लोकगीतमा व्यक्त भएका छन् । ग्रामीण जीवनका पठित–अपठित, बहुभाषिक, आस्तिक–नास्तिक आदि वर्गका विचार व्यक्त गर्ने आ–आफ्नै भाषाशैली रहेको स्पष्ट भएको छ । चौथो प्रश्नको समाधानका लागि अध्याय आठमा लुम्बिनी अञ्चलका लोकगीतमा व्यक्त सामाजिक इतिहासको खोजी गरिएको छ । सङ्कलित लोकगीतहरूका आधारमा समाज विकासका विभिन्न आरोह–अवरोह सहितको राजनैतिक इतिहासदेखि लिएर विभिन्न समय क्रममा भएका सामाजिक सङ्घ संस्थाका स्थापना र गतिविधिहरूलाई नै सामाजिक इतिहासका रूपमा लिइएको छ । राजनैतिक इतिहासका विभिन्न चरणका रूपमा दुई हजार सात सालभन्दा पूर्वको अवस्था, दुई हजार सात सालपछि दुई हजार छयालिस सालसम्मको अवस्था र दुई हजार छयालिसदेखि हालसम्मको अवधिमा सामाजिक व्यवस्थामा आएका विभिन्न गतिविधि र परिवर्तनको साक्ष्यका रूपमा लोकगीतहरू रहेको पाइएको छ । यस क्रममा ऐतिहासिक घटनाका रूपमा दोस्रो युद्धकालीन समाज, दुइृ हजार सातदेखि छयालिस, बाउन्न र वैसट्ठी त्रिसट्ठी सालमा भएका राजनैतिक आन्दोलन, विभिन्न प्रथाहरूका अन्त्यका घटना, भूमि सुधारको सुरुवात, विभिन्न शैक्षिक घटना तथा उपलब्धि जस्ता राजा महाराजाका मात्र नभई जनताका इतिहासका कुराहरू लोकगीतमा संरक्षित भएको पाइएको छ । पाँचौँ प्रश्नको समाधानका लागि अध्याय नौमा लुम्बिनी अञ्चलका लोकगीतमा अनुभूतिको संरचना र विश्वदृष्टि पहिल्याइएको छ । ती लोकगीतहरूमा प्रभुत्वशाली पिँढी वा शासक वर्गमा यो समाजमा आफ्नै हैकम चल्नु पर्ने र आफ्नो सत्ता सदासदा कायम रहि रहनु पर्छ भन्ने दम्भको भावको प्रतिबिम्बन भएका छन् । त्यसका साथै यस वर्गले अधीनस्थ पिँढीमा कुनै विषयप्रति चेतना र काम गर्ने हैसियत कम भएको ठान्ने कुरा पनि ती लोकगीतमा भेटिएका छन् । प्रभुत्वशाली वर्गको दबावका कारण अधीनस्थ पिँढीले अनुभूति गरेका अनेक दबाव, तनाव अनि त्यस पिँढीले भोगेका अनेकन समस्या, अपमान र पीडाका साथ जीवन गुज्रिरहेको यथार्थ प्रतिबिम्ब ती लोकगीतमा पाइएको छ । प्रभुत्वशाली वर्गका रूपमा रहेका शासक र सामान्त वर्गको समाजमा सदासदा आफ्नै हैकम कायम रहनु पर्छ भन्ने दृष्टिकोणहरू त्यहाँका लोकगीतमा प्राप्त भएका छन् । यस वर्गले अधीनस्थ वर्गमा दबाव सिर्जना गर्ने, डर, धम्की र त्रास उत्पन्न गराउने र आफ्नो संस्कृति लाद्न खोज्ने आदि व्यवहारहरू लोकगीतमा व्यक्त भएका छन् । अधीनस्थ पिँढीका रूपमा रहेका नारी, विपन्न÷मजदुर, परदेशी लगायतका अन्य शासित वर्गका दृष्टिकोणहरू पनि लोकगीतमा व्यक्त भएका छन् । यसै गरी ती लोकगीतहरूमा यस्ता वर्गमा देशको राजनैतिक व्यवस्थामा भएका अस्तव्यस्तता, ढिलासुस्ती, लोपोन्मुख संस्कृति र हराउँदै गएको मानवताप्रतिको चिन्ता व्यक्त भएका छन् । स्वदेशको माया र उन्नतिका लागि स्वदेशमै पौरख गर्नु पर्छ भन्ने राष्ट्रवादी दृष्टिकोण यस वर्गमा रहेको कुरा ती लोकगीतमा पाइएको छ । समग्रमा यस शोधमा विश्लेषण गरिएका लोकगीतमा लुम्बिनी अञ्चलका पहाडी समाजको सामन्तवादी सामाजिक–आर्थिक संरचना, पितृसत्तात्मक लैङ्गिक सम्बन्ध अनि यिनै आधारमा विकसित सामाजिक संस्कृतिको स्पष्ट प्रतिबिम्बन भएको छ । प्रभुत्वशाली तथा अधीनस्थ समुदायका अनुभूति र विश्वदृष्टिको पनि स्पष्ट अभिव्यक्ति भएको पाइन्छ । यसबाट सम्बद्ध लोकगीतका माध्यमबाट त्यहाँको समाजलाई राम्रोसँग चिन्न सकिने स्थिति रहेको यस अध्ययनले देखाएको छ ।en_US
dc.language.isootheren_US
dc.subjectलोकगीत - लुम्बिनीen_US
dc.subjectFolk song - Lumbinien_US
dc.titleलुम्बिनी अञ्चलका लोकगीतको समाज शास्त्रen_US
dc.typeThesisen_US
Appears in Collections:700 The arts

Files in This Item:
File Description SizeFormat 
Laxmi_Pokhrel _PhD_Thesis.pdf4.45 MBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.